सिटामोल बिरामीलाई प्रति ट्याब्लेट कती पर्ला ?
काठमाडौं –सरकारी स्वामित्वमा सञ्चालित नेपाल औषधि लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल भोलिबाट बजारमा जाँदैछ । गत फागुन ९ गतेबाट सिटामोल उत्पादन शुरु गरेको लिमिटेडले भोलिबाट बजार पठाउने तयारी गरेको औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुशम सुवेदीले जानकारी दिए ।
‘हामीले गत फागुन महिनादेखि अहिलेसम्म १० लाख सिटामोल बनाइसकेका छौं । बजार पठाउनका लागि ५ लाख चक्की सिटामोल प्याकिङ भइसकेको छ,’ महाप्रवन्धक सुवेदीले भने, ‘वीर अस्पतालले भोलि ५० हजार चक्की सिटामोल किन्ने भएको छ । सात वर्षपछि हाम्रो सिटामोल भोलिबाट बजारमा जाँदैछ ।’
देशकै जेठो र केन्द्रीय अस्पतालसमेत भएकाले भोलि वीर अस्पताललाई बिक्री गर्ने तयारी गरिएको उनको भनाइ छ । वीर अस्पतालमा सिटामोल बिक्रीको औषपचारिक शुरुवात गरेसँगै आइतबारबाट देशैभरीका औषधि बजारमा सिटामोल पुग्ने सुवेदीले बताए । लिमिटेडले उत्पादन गरेको सिटामोल बिरामीले प्रतिट्याब्लेट एक रुपैयाँमा पाउनेछन् ।
पहिलो चरणमा उद्योगको ब्राण्डको रूपमा चिनिएको सिटामोल उत्पादन गरेको लिमिटेडले आगामी दिनमा आइरन चक्की, जुकाको औषधिलागायत २० प्रकारका चक्की औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ ।
Post a Comment
Post a Comment